अपि पावर कम्पनीको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना बिहीबारदेखि प्रसारण प्रणालीमा जोडिँदै

{!! get_the_title() }}

 

काठमाडौं ।

अपि पावर कम्पनीको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको ४ मेगावाट विद्युत बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण पूरा भइसकेको सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको हो ।
जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले पहिलो पटक सौर्य विद्युत आयोजना निर्माण गरी प्रणालीमा जोड्न लागेको हो ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी पूरा भएको अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । अहिले आयोजनाको परीक्षण भइरहेको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।१५ दिन परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिइने र त्यसपछि व्यापारिक उत्पादन सुरु गरिने प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

कम्पनीले १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको हो । यो आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुनेछ ।३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंले एकल लगानी गरेको छ । आयोजनामा कूल लागतको २५ प्रतिशत (८.२५ करोड ) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड) ऋण लगानी छ । यो सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि प्रदेश–२ को विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने कम्पनको दाबी छ ।

कम्पनीले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणाधीन छ । कम्पनीले आगामी आर्थिक वर्ष २०७८–७९ मा पनि पुँजी वृद्धि गर्ने योजना बनाएको छ । हकप्रदको आह्वानपत्रमा उल्लेख गरेअनुसार अपिले आगामी आर्थिक वर्षमा थप १ अर्ब ८ करोड ६० लाख रुपैयाँ पुँजी विस्तार गर्ने देखिएको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।