• अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप सहयोग गर्न लागेको हो । नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले अमेरिकाले नेपाललाई उक्त खोप दिन लागेको जानकारी दिइन् ।

    ‘उक्त खोपको थप विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उनले भनिन् । उनले यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको बताइन् ।

    उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्ने बारेमा भने अहिले नै पूर्ण जानकारी आइनसकेको दूतावासले जनाएको छ । यसअघि नेपालले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो । साथै, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् ।

    उक्त पत्र लेखेको एक महिना कटिसक्दा समेत हालसम्म अमेरिकी राष्ट्रपति बाइडेनको तर्फबाट नेपालले कुनै जवाफ प्राप्त गरेको छैन । अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।

    अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने वाचा गरेको थियो । तर, नेपालले अमेरिकाले वाचा गरेको खोप हालसम्म प्राप्त गरेको छैन ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।