• रानीखेत रोगले कुखुरा मर्न थाले, फर्म खोल्ने धोको अधुरै

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, हुम्ला ।

    हुम्लाको सिमीकोटमा किसानहरुको दैनिक १५ वटा कुखुरा मर्न थालेपछि कुखुरा फर्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमीकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगका कारण धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फर्म खोल्ने रहर अधुरै रहेको हो ।

    जानकारी नै नपाएको रोग आएपछि आफ्नो व्यवसाय चौपट भएको स्थानीय बाँचबहादुर सुनारले दुखेसो पोखे । उनले भने, ‘सदरमुकाम सिमीकोटसँगै जोडिएको वडामा पनि कुखुरा बचाउन सकिएन ।’ कुखुरा पालेर मनग्य आम्दानी गर्दै आएका किसानको अहिले विभिन्न रोगले कुखुराको खोर रित्तो भएको छ ।

    डाँडाफयाका चारवटा गाउँमा दुई सातादेखि रानीखेत र निमोनिया रोगका कारण दुई सयभन्दा बढी कुखुरा मरिसकेका छन् । तीन वर्षदेखि पालेका कुखुरा मरेपछि कुखुरा फर्म खोल्ने र व्यवसाय गर्ने धोका सपना जस्तै भएको स्थानीय गौँगोरी सुनारले बताइन् ।

    दैनिक दिन १५ देखि २० वटासम्म कुखुरा मर्न थालेपछि स्थानीय किसान मर्कामा परेका छन् । रानीखेत र निमोनिया रोगले गर्दा आफ्नो आयआर्जनको माध्यम कुखुरा पालनबाटै वन्चित हुनुपरेको स्थानीय कालीबहादुर सुनारले बताए । स्थानीयका अनुसार रोग लागेका कुखुराहरू पहिला झोक्राउने, कराउने र मर्ने गरेका छन् ।

    मौसम परिवर्तनसँगै बाहिरबाट ल्याएका कुखुरा भएका कारण रानीखेत र निमोनिया रोगले छिटो च्याप्ने गरेको पशु विकास अस्पताल कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए । ‘डाँडाफयामा फैलिएको रोग नियन्त्रणका लागि औषधिसहित स्वास्थ्यकर्मी टोली चाँडै रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान हुँदैछ,’ उनले भने ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।