• माथिल्लो तामाकोशीकाे वार्षिक आम्दानीको प्रक्षेपण, निर्माणमा किन ढिलाई ?

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    नेपालको हालसम्मकै ठूलो क्षमता ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट वार्षिक ९ अर्ब आम्दानी हुने आँकलन गरिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चाल समितिका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभएको हो ।

    २०७८ असार २१ गते उद्घाटन भई पहिलो चरणमा ७६ मेगावाट विद्युत उत्पादन सुरु गरिएकोमा भदौदेखि पूर्ण क्षमतामा उत्पादन थालिने उक्त आयोजनाबाट हाल के कति क्षमतामा जलविद्युत उत्पादन भइरहेको छ भन्ने समाचारपत्रको सवालमा, अध्यक्ष घिसिङ भन्नुहुन्छ, ‘हिउद महिना भएकाले अहिले १५० मेगावाटको हाराहारीमा उत्पादन भएको छ, वर्षामा पूर्ण क्षमतामा उत्पादन हुन्छ ।’

    माथिल्लो तामाकोशी स्वदेशी पुँजी र स्वदेशी व्यवस्थापनमा सम्पन्न गरिएको ठूलो आयोजना हो । आयोजना जलविद्युतमा आत्मनिर्भरताका लागि कोशेढुंगा साबित हुनेमा दुईमत छैन, घिसिङले भन्नुभयो, तर लागत र निर्माणको समायावधि भने दोब्बर भन्दा अधिक वृद्धि हुनपुगेको छ ।

    किन वृद्धि हुन पुग्यो निर्माण लागत ?

    आयोजनाको शुरु लागत ३५ अर्ब २९ करोड रुपियाँ अनुमान गरिएको थियो । तर हालसम्मको लागत करिब ८७ अर्ब पुगेको अध्यक्ष घिसिङ बताउनुहुन्छ । उहाँका अनुसार आयोजना निर्माणमा विलम्ब हुँदा ऋण रकमको ब्याज मात्र ३४ अर्ब रुपियाँ बेहोर्नु परेको छ ।

    आयोजनाको शुरु लागत अनुमान गर्दा १ अमेरिकी डलरको मूल्य ८० नेपाली रुपियाँको हाराहारीमा रहेकोमा हाल १२० को हाराहारी पुग्नु लागत वृद्धिको अर्को महत्वपूर्ण कारक हो ।

    आयोजनामा आवश्यक पर्ने अधिकांश सामानहरु विदेशबाट डलर तिरेलै आयातगर्नु पर्दछ । यसरी शुरु लागत अनुमानअनुसार प्रतिमेगावाट ७ करोड ७३ लाख अनुमान गरिएकोमा हाल यसको लागत १९ करोड ७ लाख पुगेको छ ।

    किन भयो आयोजनामा विलम्ब ?

    आयोजना सुरुमा ५ वर्षमा सकिने लक्ष्य राखिए तापनि निर्माण सम्पन्न हुन ११ वर्ष लागेको छ । वि.सं. २०७२ सालको भूकम्प तथा तत्पश्चातका परकम्पन, विभिन्न समयमा आएको बाढीपहिरो, भारतीय नाकाबन्दी, कोभिड– १९ को कारण झेल्नु परेको सकस, आयोजनाको डिजाइनमा गर्नु परेको फेरबदल निर्माण ढिलाइ र लागत वृद्धिको मूल कारणको रुपमा लिइन्छ ।

    परियोजनाको ‘हेडरेस’ टनेल (सुरुङ) सुरुमा इनक्लाइन्ड (छड्के)हुने भन्ने तय भएको भएपनि परीक्षण गरिएपछि त्यसलाई तेर्सो बनाएको र थप ठाडो टनेलहरू पनि बनाउनु परेको थियो ।

    फलस्वरुप परियोजनासम्म पुग्ने बाटोदेखि अन्य विभिन्न कुराहरूमा व्यापक फेरबदल गर्नुपरेको थियो । त्यस्तै, डिजाइनको निष्कर्ष निकाल्न करिब ७ महिना खेर फाल्नु परेको थियो ।

    अर्कोतर्फ २०७२ सालको भूकम्प र परकम्पनका कारण करिब २० महिना पूर्ण रूपमा काम बन्दभएको मात्र थिएन, परियोजनामा पुग्ने बाटो भत्किएपछि करिब ३ सय ५० मिटरको नयाँ टनेल मार्ग नै बनाउनुपरेको थियो ।

    विज्ञहरुको सुझाव

    खासगरी नेपालजस्तो मुलुकले परियोजनाको लागत अनुमान गर्दा सम्भावितजोखिमलाई पनि ध्यानमा राख्नुपर्दछ । वित्तीय व्यवस्थापनमा सुरुमै ध्यान पुर्याउन सकिए यस्तो समस्या कम हुने विज्ञहरु बताउँछन् ।

    डलरको भाउ भविष्यमा के हुन्छ भन्नेबारे पूर्वानुमान गर्न सक्नुपर्दछ । नेपालको सन्दर्भमा परियोजनाको निर्माण अवधि यथार्थमा आधारित नभएकाले सो सम्बन्धमा विशेष गृहकार्य गर्नुपर्दछ । आयोजनाको लागत तय गर्दा नेपालको भौगर्भिक अवस्थालाई नजरअन्दाज गर्नु कमजोरी हुने विज्ञ बताउँछन् ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।