अप्पर तामाकोशी : साउनदेखि करिब ८३ करोड युनिट विद्युत उत्पादन, यसरी बन्दैछ ‘सेतो हीरा’

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

नेपालमा जलविद्युतलाई ‘सेतो हीरा’ पनि भनिन्छ। सञ्चालनमा आएको १५ वर्षसम्म सरकारलाई तिर्नुपर्ने करमा सहुलियत पाउने र नाफा उच्च हुने हुँदा पनि लगानीकर्ता अहिले जलविद्युत्मा आकर्षित छन्। त्यसको अलवा जलविद्युत कम्पनीको प्रतिफल पहिले नै निश्चित तथा नियमित हुने हुँदा पनि लगानीकर्ताको रोजाइमा यो सेक्टर पर्ने गरेको छ।

नेपालको जलविद्युत क्षेत्रको ‘गेम चेन्जर’ आयोजनाको रूपमा हेरिएको माथिल्लो तामाकोशी एक दशकपछाडि भएपनि निर्माण सम्पन्न भई गत साउनबाट विद्युत उत्पादन सुरु गरेको छ ।

कुल ४५६ मेगावाट क्षमताको यो आयोजनाका कारण भारतबाट भइरहेको विद्युत आयात बर्खामा हटेको छ भने हिउँदामा आयात कम भएको छ । भारतबाट मासिक साढे आठ सय मेगावाटसम्म बिजुली आयात हुने गरेकोमा अहिले आयात प्रतिस्थापन नै भएको छ ।

तामाकोशी आयोजनाबाट वार्षिक करिब दुई अर्ब २८ करोड युनिट ऊर्जा उत्पादन हुन्छ । यो गत बर्षसम्म नेपालमा खपत भइरहेको विद्युत परिमाणको करिब एक तिहाइ हिस्सा हो । आयोजनाका विद्युत् गृह प्रमुख पुर्णगोल रन्जीतले गत साउनदेखि आज (जनवरी १७ )सम्म ८२ करोड ३३ लाख ५२ हजार युनिट विद्युत ऊर्जा उत्पादन गरेर राष्ट्रिय विद्युत प्रणालीमा प्रवाह गरिसकेको जानकारी आर्थिक प्रेसलाइ दिएका छन ।

पछिल्ला दिनमा नदीमा पानीको सतह घट्दै गएपनि धेरै बिजुली माग हुने पिक आवर (बिहान–बेलुकी) मा भारतबाट आयात हुने विद्युतको परिमाण न्यून छ । पिक आवरमा थोरै बिजुली आयात गरेरै प्रणालीमा माग व्यवस्थापन गर्न सकिने स्थिति बनाउन ४५६ मेगावाटको माथिल्लो तामाकोशी बदरदानजस्तै बनेको छ । एउटा ठूलो आयोजना थपिँदा विद्युत् प्रणालीमा माग र आपूर्तिको व्यवस्थापन गर्न कति सहज हुन्छ भन्ने प्रमाण तामाकोशी हो ।

पिक आवरमा भारतबाट सानो परिमाणमा बिजुली ल्याउँदा पनि माग धान्न सकिने अवस्था तामाकोशीको पिकिङ फेसिलिटी (केही घण्टा पानी जमाएर राख्न सकिने सुविधा) का कारण सम्भव भएको रन्जीत बताउँछन् ।‘हामी बिहान–बेलुकी धेरै बिजुली माग हुने समयभन्दा अघि करिब ३–४ घण्टा माथिल्लो तामाकोशी नचलाइ पानी रोकेर राख्छौं,’ उनी भन्छन्, ‘जब साँझमा माग बढ्दै जान्छ, तामाकोशीका सबै युनिट चलाएर ४५६ मेगावाट नै बिजुली उत्पादन गर्छौं ।

आयोजनाले वर्षायामको चार महीना पूर्ण क्षमतामा उत्पादन गर्न सक्छ भने बाँकी महीना पानीको उपलब्धता अनुसार समानुपातिक रूपमा उत्पादन गर्छ ।यो आयोजना पिकिङ गर्दा विद्युत् प्रणालीको स्थिरता (सिस्टम स्टाबिलिटी) र विश्वसनीयता (रिलायबिलिटी) बढाउन सहयोग पुगेको छ । माथिल्लो तामाकोशी प्राधिकरणको लागि मुनाफा कमाइदिने एकदमै राम्रो आयोजनाको रूपमा रहनेछ ।

प्राधिकरणसँग भएको विद्युत् खरीद–बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यापारिक उत्पादन शुरू भएको वर्ष प्राधिकरणले खरिद गर्ने विद्युत्को दर हिउँद यामको चार महीना प्रतियुनिट रु ६.९६ र अन्य ८ महीनाको लागि प्रति युनिट रु ३.६३० कायम गरेको छ ।यो दरमा त्यसपछिका नौ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि (चक्रवृद्धि) भई नवौं वर्षमा प्रति युनिट खरीददर औसतमा रु५.३० , हिउँद यामको चार महिना प्रति युनिट रु ९.०८ र अन्य ८ महिनाको लागि प्रति युनिट रु ४.७३० कायम हुनेछ ।ग्राहकसम्म पुग्दा करीब १५ प्रतिशत विद्युत् चुहावट हुन्छ भन्ने मान्ने हो भने ग्राहकको मिटरमा पुग्दाको खरिददर व्यापारिक उत्पादनको पहिलो वर्ष प्रति युनिट औसत रु ४.७८ र नवौं वर्षमा प्रति युनिट औसत रु ६.२४ पुग्ने अवस्था छ ।

आधारभूत पक्ष

अपर तामाकोशी हाइड्रोपावर (Upper) को सेयरपुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ८६ करोड १९ हजार रुपैयाँ नाफा कमाएको छ।

कम्पनीको आयोजना सम्पन्न भई विद्युत उत्पादन सुरु भएसँगै उसको आम्दानी बढेको छ। यसले गर्दा नाफामा उच्च बृद्धि देखिएको छ। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ कमाएको छ। यत वर्षसम्म यस्तो आम्दानी शुन्य थियो। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी बढेर ३२ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयरु नेटवर्थ ९८ रुपैयाँ १ पैसा छ। प्रति सेयर कुल सम्पत्तिको मूल्य ७४० रुपैयाँ छ।

        यो कम्पनीबाट वार्षिक ९ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने आँकलन गरिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चाल समितिका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक प्रेससँगको कुराकानीमा उक्त जानकारी दिनुभएको हो । कम्पनीबाट वार्षिक ९ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ भने सबप्रजेक्टअन्तर्गत रोल्वालिङ खोलामा बन्ने सबप्रजेक्टबाट जोड्दा त १२ अर्ब वार्षिक आम्दानी गर्ने छ।

कम्पनीको ५१ प्रतिशत विभिन्न सरकारी संस्थानहरुको लागानी देखिन्छ। जसमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २र२ प्रतिशत दरले लगानी छ।

बाँकी ४९ प्रतिशतमा सर्वसाधारणको १५ प्रतिशत, स्थानीयको १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोष र प्रोजेक्टमा योग्दान गर्ने कर्मचारीलाई छुट्टाएर लगानी व्यवस्थापन गरिएको छ।

प्राविधिक पक्ष

अपर तामाकोशी हाइड्रोपावर (Upper) को कारोबार रकम पनि बढ्दै गएको देखिन्छ। आज मात्रै झन्डै ४ लाख कित्ता शेयर कारोबार भएको देखिन्छ। आज मूल्य ७४० भन्दा माथि लाग्दै गर्दा त्यो बलियो रेसिस्टेन्स लाइनलाइ ब्रेक गरेर माथितिर क्यान्डल बनेको छ। यो सर्वाधिक महत्वपुर्ण कुरा हो।

अन्य इन्डिकेटर हरुले के देखाईरहेका छन ?

RSI
अपर तामाकोशी हाइड्रोपावर (Upper) को डेली चार्टमा RSI ६९ भन्दा माथि पुगेको छ। यस अघि बजार मूल्य ९६२ पुग्दै गर्दा पनि RSI ७८ भन्दा माथि जान सकेको थिएन।

६९ भन्दा माथिको RSI ले एकदमै स्ट्रंग ट्रेन्डको संकेत गर्दछ। बुलिश बजारमा RSI ९० भन्दा माथिसम्म पनि पुगेका प्रसस्त उदाहरणहरु रहेका छन। त्यसैले आगामी दिनमा तामाकोशीको मूल्य अझै बढेर जाने संकेत RSI ले गरेको छ।

MACD

MACD  इन्डिकेटर सकारात्मक छ। यसले तामाकोशीको सेयर मूल्य ६२० तिर हुँदै बाई सिग्नल दिइसकेको थियो। अहिलेMACD का हिस्टोग्रामहरु लामा लामा हुँदै गएका छन। जसले यसको सेयर मूल्यमा उच्च खरिद चाप रहेको संकेत गर्दछ।

      भोलुम,RSI,MACD सुपरट्रेन्ड लगाएतका इण्डिकेटरहरुले सकारात्मक संकेत गरिरहेका छन।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।