• काठमाडौंको फोहोर पहिलो पटक बन्चरेडाडाँ ल्याण्डफिल साइटमा खसाइयो

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं । 

    काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाउन शुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो ।

    नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाडाँतर्फ पठाइएका छन् ।
    सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुल लगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गर्नुभएको थियो ।

    हाल काठमाडौं र ललितपुरबाट एक सय वटा ट्रक फोहोर बन्चरेडाडाँमा खसाइएको बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिनुभयो । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उहाँले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताउनुभयो ।

    मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

    काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताउनुभयो ।

    यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो । काठमाडौं र ललितपुरका चोक र गल्लीहरूमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । फोहोर व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री झाँक्रीको भनाई छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।