राष्ट्र बैंकको कदमले पुँजीबजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ: रायमाझीको विश्लेषण

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

 

  •                 सुन्दर रायमाझी

 पछिल्लो हप्ता लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षाकै प्रतिक्षामा थिए। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । पहिलो त्रैमासिक समीक्षामार्फत विभिन्न नीतिगत व्यवस्था गरेको छ। जस अनुसार केन्द्रीय बैंकले बैंकहरुको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) घटाएको छ । यसअघि वाणिज्य बैंकहरुको स्प्रेड रेट ४.४ प्रतिशत रहेकोमा अब घटाएर ४ प्रतिशतमा झारिएको छ । त्यस्तै, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट घटाएर ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न जानेछ । यसबाट कर्जाको ब्याजदरसमेत घट्नेछ । बैंकहरुको ब्याजदर अच्काली बढेको बेला राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रमा केहि आशा पलाएको छ ।

अनिवार्य नगद अनुपात ४ प्रतिशत र बैंक दरलाई ८.५ प्रतिशतमा यथावत् राखिएको छ, राष्ट्र बैंकले बैंकहरुलाई कृषि, उर्जा र साना तथा एसएमई क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पनि आधार दर (बेस रेट) लागु गर्ने नीति पनि ल्याएको छ । यस्तै अहिले निजी क्षेत्रलाई प्रमुख समस्या पारेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका विषयमा भने राष्ट्र बैंक मौन छ । यद्यपि प्राप्त सुझावका आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गर्दर्शन सम्बोधन गरिने उल्लेख गरेको छ । यस्तै ‘समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मा पनि राष्ट्र बैंकले केही लचकता देखाएको छ । समीक्षामार्फत गरिएका व्यवस्थाले बैंकहरूको ब्याजदर थप बढ्ने छैन  ।

बजार विगत १५ महिनादेखि घटिरहेको छ।२१ अर्बसम्म कारोबार भएको बजारमा कारोबार रकम पनि घटेर ५०/६० करोडमा झरेको थियो । अहिले बजार १९५० माथि नै बसेको छ भने कारोबार पनि २ अर्ब माथि नै छ। चुनाव सकिएको छ र कम्पनीहरुले लाभांश वितरण गरिरहेका छन । अब नयाँ सरकार केही दिनमा नै बन्ने छ। चुनाव अघिको घोषणपत्रमा पनि धेरै पार्टीले पूँजीबजारलाई समेटेका छन् अब आउने सरकारले राम्रो काम गर्न बाध्य हुनेछ।

अहिले रेमिट्यान्स पनि बढिरहेको छ। तरलता विस्तारै सहज हुँदै छ। ९२-९४ प्रतिशत रहेको सिडि रेशियो अहिले ८६ प्रतिशतमा झरेको छ।नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको असोज महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार नेपाली रुपैयाँमा विदेशी मुद्राको सञ्चितिमा पनि सुधार आएको छ ।राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपाल भत्रिने र बाहिरिने विदेशी मुद्राको अनुपात देखाउने सूचक शोधनान्तर स्थिति गत असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । १४ महिनादेखि निरन्तर घाटामा रहँदै आएको शोधनान्तर स्थिति असोजमा बचतमा गएको हो । गत आर्थिक वर्षको असोजमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा थियो ।विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।उल्लिखित तथ्यांकलाई विश्लेषण गर्दा विगतमा संकटोन्मुख अवस्थामा पुगेको मुलुकको बाह्य क्षेत्र नियन्त्रणमा आएको देखिन्छ  ।त्यसले गर्दा पनि परिस्थिति फेरिएको छ। पहिलेको जस्तो अवस्था अहिले छैन्। यी विविध गतिविधिले आम लगानीकर्ताको मनोभावनामा सकारात्मक असर पार्ने देखिन्छ।पुँजीबजार अब विस्तारै लयमा फर्किने देखिन्छ ।

(विभिन्न वित्तीय संस्थामा बित्त सल्लाहकारमा आबद्द तथा पुजी बजार सम्बन्धी राम्रो जानकारी राख्ने युवा लगानीकर्ता सुन्दर रायमाझीसँग आर्थिक प्रेसका विष्णु रैगाईले गरेको कुराकानीमा आधारित )

 

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।