सिद्धार्थ राजमार्ग दस मिटर चौडा हुने

{!! get_the_title() }}

आर्थिक प्रेस काठमाडौं ।

बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको १५८ किमि सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न स्याङ्जा जिल्लाका सर्वसाधारणले सुझाव दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाले स्याङ्जाका सडकले प्रत्यक्ष प्रभावित पाँच पालिकाका पाँच ठाउँमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइमा स्थानीयले स्तरोन्नतिका लागि सुझाव दिएका हुन् ।

महाशाखाले गल्याङ, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिकाका नागरिकसँग सुनुवाइ गरेको हो । वालिङमा गरिएको सुनुवाइमा गण्डकी प्रदेश सदस्य भोजराज अर्यालले सिद्धार्थ राजमार्ग स्याङ्जालीको जीवन भएको भन्दै राजमार्ग फराकिलो पार्न आआफ्ना स्थानबाट कटिबद्ध भएर लाग्नुपर्ने बताए ।

पटक–पटक राजमार्ग फराकिलो पार्ने विषय उठान गर्नुभन्दा छिटै राजमार्ग फराकिलो पारी स्याङ्जाको भविष्य सुनिश्चित गर्नुपर्ने भनाइ उनको थियो । पुतलीबजारमा भएको सुनुवाइमा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले दीर्घकालीन योजनाअनुरूप सय वर्षका लागि हुने गरी सडक विस्तार गर्न सुझाव दिए ।

विकाससँगै विनाश पनि जोडिएकाले कम विनाशमा धेरै विकास हुने गरी प्रभावित व्यक्तिलाई उचित मुआब्जा र क्षतिपूर्तिसहित सडक निर्माण गर्नुपर्ने भनाइ उनको थियो ।

उनले मुआब्जा र क्षतिपूर्तिको व्यवस्था, भूउपयोगमा परिवर्तन, भूक्षय, माटो, पानी, ध्वनि, वन विनाश, घरटहरामा क्षति, सामाजिक जनजीवनमा प्रभाव, पानीका मुहान, खानी, वनस्पति, पुल, खोला आदिको असरका बारेमा सोच्नुपर्ने बताए ।

साँघुरो राजमार्गका कारण स्याङ्जाले आर्थिक, सामाजिक एवं औद्योगिक क्षेत्रमा विकास गर्न नसकेको भन्दै विभागको प्रस्तावले आफूलाई उत्साही बनाएको सहभागी स्थानीय निरज शर्माको भनाइ थियो ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।