नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ४३% घट्यो, खुद नाफा १ अर्ब ६१ करोडमा सीमित

106 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 📉 नाफामा ठूलो गिरावट - दोस्रो त्रैमाससम्म खुद नाफा ४३% घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित।
  • 💰 आम्दानी सूचक कमजोर - खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा उल्लेखनीय कमी।
  • ⚠️ खराब कर्जा बढ्दो - एनपीएल ५.८६% बाट बढेर ७.९०% पुगेको छ।
  • 🏦 ठूलो कर्जा–निक्षेप कारोबार - ३.२८ खर्ब कर्जा प्रवाह र ५.१९ खर्ब रुपैयाँ निक्षेप संकलन।
  • 🌐 बाह्य कारणले असर - आर्थिक अनिश्चितता, ब्याजदर उतार–चढाव र राजनीतिक अस्थिरताले नाफामा दबाब।

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा बैंकको नाफा ४३ प्रतिशतले घटेको देखिन्छ।

बैंकले नाफा घट्नुका मुख्य कारणका रूपमा कर्जाको मागमा आएको कमी, छोटो अवधिमा ब्याजदरमा भएको उतार–चढाव, जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरता तथा समग्र आर्थिक अनिश्चिततालाई उल्लेख गरेको छ।

चालू त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ। यससँगै प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ६० पैसाबाट घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।

यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३ अर्ब ६१ करोड १० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। साथै, रिजर्भ कोष ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ।

बैंकले हालसम्म ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।